नेपाल । चालू आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको सोमबार प्रकाशित तथ्याङ्कले देखाएको छ ।
गएको आर्थिक वर्षको पुस महिनामा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।
प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो ।
समीक्षा अवधिमा चालू खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब १ अर्ब २४ करोड बचतमा रहेको छ । विदेश व्यापारतर्फ निर्यात ४३।८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्