२० माघ २०८२, मंगलवार

न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 3rd, 2026

अमेरिका । गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गर्नु भएको छ । प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन् ।

अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी २५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरुद्ध गरेको जनाइएको छ । ममदानीले अहिलेसम्म छ करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताउनु भएको छ ।

घरबार विहीन तथा विस्थापितलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपाय अपनाइएको जनाइएको छ । नयाँ आश्रय तथा एकाइ घरबार विहीनका लागि खुला हुने र तातो र सुरक्षित आश्रय न्युयोर्क सहरका पाँच वटा स्थानमा मानिसका लागि खुला रहने जनाइएको छ ।

२४ सय भन्दा बढी उडान अवरुद्ध
संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडान रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको सार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार(आइतबारसम्म १८ सय भन्दा बढी उडान रद्द गर्न बाध्य पारेको बताएको छ ।

यसैबिच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ । यसैबिच, हाट्र्सफिल्ड(ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार एटलान्टा जाने लगभग ५० वटा उडान बाहेक ६०० भन्दा बढी उडान रद्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । आँधीसँगै आएको शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम(३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्