१७ माघ २०८२, शनिबार

निर्वाचन भाँड्न केही तत्त्व अझै सक्रियः प्रचण्ड

कोलोराडोखबर संवाददाता , January 31st, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने निर्वाचनमा आफूहरूको पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रत्यक्षतर्फ आफूहरू पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरू पहिलो हुने उनको दाबी छ ।

उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरूको हावा चलेकाले केही कमजोर हुने बताए । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताए ।

यद्यपि निर्वाचन भाँड्न केही तत्त्व अझै सक्रिय रहेको उनको भनाइ छ। प्रचण्डले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताए। उनले देश निर्वाचनमय भइसकेकाले संसद् पुनःस्थापना हुने सम्भावना अब नरहेको दाबी गरे ।

सुरक्षा संयन्त्र, कर्मचारी र सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ। केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढंगले प्रभावित पार्ने प्रयास गरिरहेकाले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्