१७ माघ २०८२, शनिबार

कविता: पाताल सुन्दरी

कोलोराडोखबर संवाददाता , January 31st, 2026

-सुदीपभद्र खनाल-

तिम्रो याद मिठो म भित्र छ कतै अम्लान अन्तर्यमा
गाढा रूप छिपी छ यो नजरको नानी बनी नैनमा
तिम्रै शुभ्र छटा म भित्र छ यहाँ हे मोहिनीझैँ परी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी

तिम्रो गीत मिठो छ प्रेम रसको गुँज्दै अझै कानमा
तिम्रो प्रीत मिठो पवित्र मनको खुल्दैछ उद्ध्यानमा
तिम्रै पावन भावका लहरमा डुब्दै छु हे लैबरी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी

तिम्रो नूतन सभ्यता लहरको आलोकले लोभिई
तिम्रो अर्थ र ज्ञान शक्ति प्रविधि स्पृही बनी झुम्मिई
तिम्रै उज्वल रश्मिका झिलिमिली हेरी रमाएँ परी
तिम्रो मोहन मादमा लठ म छु पातालकी सुन्दरी

वासन्ती कुसुमी कला हृदयकी आल्हादिनी पावन
लाग्ने चन्द्र शरत् छटा कुमुदिनी हे मोहिनी यौवन
तिम्रै प्रेम पहारका वश परी फस्दै गएझैँ चरी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी

आभा जादुगरी बस्यो कि यसरी भुल्नै नसक्ने गरी
जस्तो फस्दछ भृङ्ग झैँ कमलमा फस्तै गएँ सुस्तरी
कस्तो प्यास रहेछ अग्नि पिउने प्यासी बने हे परी
तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्