अमेरिका । प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले अमेरिकी लगानीकर्तासँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ ।
यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ ।
टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानी कर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताउनुभएको छ । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिनुहुन्छ ।
सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताको कन्सोर्टियमसँग रहने छ, जसमा प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ । बाइटडान्ससँग प्रत्यक्षरूपमा २० प्रतिशत स्वामित्व मात्र रहने छ, जुन अमेरिकी कानूनले चिनियाँ कम्पनीलाई अनुमति दिएको अधिकतम सीमा हो । बाँकी हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्तासँग सम्बद्ध पक्षको हातमा रहने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्