३१ भाद्र २०८१, सोमबार

कथाः मलामी

कोलोराडोखबर संवाददाता , February 17th, 2024

–आरसी रिजाल–

सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चियापिउन उठ्नुस भनेर घचघच्याउदा सिताङ् भएको चालपाइन र आँगनमा आएर रुदै छिमेकीलाई गुहार्न लागिन् ।

चारपाँच जना बुढाबुढी जम्मा भए । एकजनाले नाडी छामेर–ल स्वर्गबास भएछ । लासलाई तुलसीको मोठमा लगेर राखौँ भने ।अर्कोले– जिउँदोमा भन्दा मरेको मान्छे गरुँगो हुन्छ । लास बाहिर निकाल्न हामी वृद्धले शक्त्तैनौँ ।गाउँमा लाठे भन्नू पुछारघरे ठुलो कान्छा र खोरण्डे माइलामात्र छ्न्। बोलाउन पर्‍यो भने । वल्लोपल्लो घरका बुहारी केटाकेटी पनि जम्मा भैसकेका थिए । एउटी बुहारिले– खोरण्डे दाइको मोबाइल नम्बर मलाई थाहा छ ।म दुबैजनालाई बोलाउछु भनिन् ।

यता बुढाहरु ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २–३ जना अगाडि नै जानपर्छ भन्दै छ्न् । बुढीहरु सावित्रीलाई सम्झाउँदै छ्न् । यत्तिकैमा खोरण्डे र ठूलोकान्छा आएर लासलाई बाहिर तुलसीको मोठमा पुर्‍याउछ्न् । छिमेकीले खाडी मुलकमा रहेको छोराहरूसंङ्ग कुरा गर्छन् । तत्काल उनीहरु आउन सम्भव नभएपछि गाउलेहरु दाहसंस्कारको मेसो मिलाउनतिर लाग्छन् ।

ठूलो कान्छाले पल्लो गाउँका ज्यामी नाइकेलाई– आज हाम्रो गाउँमा एकजना बित्नु भयो । गाउँका युवाहरू सारा बिदेशीतिर छ्न् । मलामी जानपर्ने भयो । यो पुण्यकार्यमा सहयोग गर्नु पर्‍यो भाइ हो भने ।

उताबाट– आज बेंसी साहुको घरमा जस्ता लगाउने काममा जाने निधो गरिसकेका छौं । फेरि तपाईंको गाउँका मान्छेले मलामी ज्याला एकहजार दिन पनि किचकिच गर्छन् । हाम्रा केटाहरु–उनीहरुको छोराबुहारी बिदेशमा कमाइ गरेर बस्ने, महङ्गी यस्तो बढेको छ, अब दुईहजारभन्दा कममा मलामी जान सकिन्न भन्छ्न् । अझ त्यसमा खाजा खर्च छुट्टै माग्छन् भन्यो । ठूलो कान्छाले– ल यता कुरा गरेर तुरुन्त खबर गर्छु भन्यो ।

मलामी जाने युवाहरुको माग सुनेर यता बुढाहरुले कुरा काट्न सुरु गरे–कस्तो जमाना आयो ? बिवाहमा बाजाको टोली भनेझैं मलामीको पनि टोलिी गठन गरेछ्न् । ल सातजनाको टोलीलाई बीस हजारमा ठेक्का दिने भनेर कुरा टुग्याउनु ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्