८ मंसिर २०८२, सोमबार

दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता

कोलोराडोखबर संवाददाता , November 24th, 2025

नेपाल । नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ ।

श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो । भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।

जितका लागि नेपालले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमा पूरा गरेको हो । भारतका लागि फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाउनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाउनुभयो । विमला राईले २६ रन जोड्नुभयो ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो ।

दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलि अलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्पदृष्टिविहीन हुन्छन् । हरेक टिमले तिनै प्रकारका खेलाडीलाई मैदानमा उतार्नु पर्छ । चार खेलाडी पूर्ण रूपमा दृष्टिविहीन हुनु पर्छ ।

आवाज आउने बल हुन्छ । बलरको बलिङ गर्ने एक्सन पनि फरक हुन्छ । बलरले पिचमा गुडाएर बज्ने बल फ्याँक्ने गर्दछ । आवाज सुनेपछि ब्याट्सम्यानले प्रहार गर्छन् । बी १ ब्याटरका लागि रनको प्रयोग गरिन्छ । बी १ ले बनाएका प्रत्येक रन दुई रन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्