नेपाल । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । उत्पादनमूलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ । शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ ।
तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्