नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्र राष्ट्रको समृद्धिको प्रमुख इन्जिनका रूपमा रहेको भन्दै सुशासन, सहकार्य, आत्मनिर्भर र उत्पादनमूलक अर्थतन्त्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले शनिबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीहरू समृद्धिको जगका ढुङ्गा भएको भन्दै निजी क्षेत्रको मनोबल जगाउन, युवाको म्यान्डेट आत्मसात् गर्न र आत्मनिर्भर अर्थतन्त्रतर्फ देशलाई अघि बढाउन आह्वान गर्नुभयो ।
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुसखोरी र लुटतन्त्रविरुद्ध कठोर सन्देश दिँदै सुशासन र इमानदार उद्यमीलाई संरक्षण गर्ने नीति अघिसारेको बताउनुभयो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ मन्त्रालयले प्रशासनिक लागत घटाउन प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार भइरहेको र लेखापरीक्षणमा व्यवसायीलाई अनावश्यक भार नपर्ने गरी दसैँअघि नै निर्णय गरिएको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले कानुन बनाउने, रोक्ने र फेरि खोल्न अर्को कानुन बनाउने प्रवृत्तिले अर्थतन्त्रलाई चलायमान हुन नदिएको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले ब्याजदर कम रहेको, तरलता प्रशस्त भएको र विदेशी विनिमय सञ्चिति मजबुत रहेको बताउँदै निजी तथा सार्वजनिक क्षेत्रले समन्वय गरेर माग सिर्जना गर्न आह्वान गर्नुभयो ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास नहुने भन्दै सरकार र निजी क्षेत्र सँगै हिँड्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा लगानी बढाउन थप सहकार्यको आवश्यकता औँल्याउँदै महासंघले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार प्रदर्शनका क्रममा निजी क्षेत्रको करिब ८८ अर्ब बराबार नोक्सानी भएको जानकारी गराउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्