१ कार्तिक २०८२, शनिबार

गोपीकृष्ण थापाको ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण

कोलोराडोखबर संवाददाता , October 15th, 2025

नेपाल । गोपीकृष्ण थापाद्वारा लिखित ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रह लोकार्पण गरिएको छ । मंगलबार आयोजित नेपाल स्रष्टा समाज केन्द्रीय समितिको १९औँ वार्षिक साधारणसभा एवं पुस्तक लोकार्पण समारोहमा ‘स्पन्दित मन’ सार्वजनिक गरिएको हो ।

कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ ले गोपीकृष्ण थापाका मुक्तकहरू आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण भएका बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य समाजको दर्पण हो । ‘स्पन्दित मन’ केवल शब्दहरूको संयोजन होइन, लेखकको भावनात्मक यात्राको दस्तावेज हो । थापाद्वारा लिखित मुक्तक आजको समाज, व्यक्ति र समयको यथार्थ चित्रण हो ।”

लेखक थापाले ‘स्पन्दित मन’ मुक्तक आफ्नो अनुभूतिहरूको प्रतिबिम्ब भएको धारणा राख्दै यसमा मनका भावना र समाजका यर्थाथ इङ्गित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरा अनुभूतिहरूको प्रतिबिम्ब हो । समाजका भोगाइ, देखाइ र अनुभवहरूलाई शब्दमा उतार्ने कोसिस गरेको छु । यिनै मुक्तकहरूमा मेरो मनको धडकन लुकेको छ ।”

कार्यक्रममा नगेन्द्रराज शर्मा, प्राडा लक्ष्मणप्रसाद गौतम, रोचक घिमिरे, अशेष मल्ल, संरक्षक पवन आलोकलगायत वक्ताले ‘स्पन्दित मन’ मुक्तक सङ्ग्रहको भाव, शैली र महत्त्वबारे आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले उक्त मुक्तकलाई नेपाली साहित्यमा एक सकारात्मक ऊर्जाका रूपमा व्याख्या गर्नुभएको थियो । कार्यक्रममा स्रष्टा, साहित्यकार, साहित्यप्रेमीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्