३ आश्विन २०८१, बिहीबार

६० किलो सुन प्रकरणमा फरार रोल्पाकी अमलाविरूद्ध डिफ्युजन नोटिस जारी

कोलोराडोखबर संवाददाता , February 8th, 2024

नेपाल । केही महिजाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको हो ।

डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन, तर उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ ।

रोका सुनकाण्डमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङकी श्रीमती हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भएको करिब ६० किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो।

सुन प्रकरणमा अन्य ४८ जना संलग्न रहेको अनुसन्धानमा खुलेको थियो । बाँकी व्यक्तिहरू फरार रहेको अवस्थामै मुद्दा दर्ता गरिएको थियो।

साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो ।

उक्त सुन गाल्दा ६० किलो ७१६ ग्राम भएको थियो । उक्त सुन रेडी ट्रेड प्रालीले ल्याएको ब्रेक सुमा फेला परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्