२६ भाद्र २०८२, बिहीबार

प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बालेनको समर्थन

कोलोराडोखबर संवाददाता , September 11th, 2025

नेपाल । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने बताउँदै त्यसमा पूर्ण समर्थन रहेको धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

बालेनको स्टाटस:

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु ।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

 

प्रतिक्रिया दिनुहोस्