नेपाल (हेटौंडा) । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।
यता, बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।
वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका छन् ।
कांग्रेस संसदीय दलको बैठकले उनको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।
१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार दावी पेश गर्ने भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्