नेपाल । मंगलबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०६२–०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँचपटक प्रधानमन्त्री भए । उनको निधन २०६६ साल चैत ७ गते भएको थियो ।
नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बहस कार्यक्रम आयोजना हुनेछ ।
कोइरालालाई केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुनेछ। ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहनेछन् ।
बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ। यसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् ।
‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकार चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् ।
तत्कालीन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा १९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका गिरिजाप्रसाद नेपाली राजनीतिका धरोहर मानिन्छन्। उनी बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका भाइ हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्