नेपाल । गण्डकी प्रदेशमा मुख्यमन्त्री फेरिएका छन् । एमालेका खगराज अधिकारलाई अदालतको आदेशबाट पदमुक्त गरेसँगै नेपाली काँग्रेसका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सर्वोच्च अदालतको परमादेशबाट बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।
मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले पनि मन्त्री पदको शपथ लिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने थापाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
अबको ३० दिन भित्र कांग्रेसले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभामा ठूलो दलको हैसियतबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन् । गण्डकीमा कांग्रेसको २७ मत छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ मत आवश्यक छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्