नेपाल । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायाङ्कन सकिएको छ । असोज २ देखि काभ्रेको धुलिखेलमा सुरु भएको चलचित्रको पहिलो चरणको छायाङ्कन सम्पन्न भएको हो ।
“मदनकृष्ण श्रेष्ठ आफ्नो जीवनीमा बनेको सिनेमाको छायाङ्कन हेरेर निकै भावुक हुनुभयो । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट हुनुहुन्छ । जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयम् सेटमा हुँदा हामीलाई थप सहज भएको छ,” चलचित्रका निर्देशक मिलन चाम्सले भन्नुभयो । दोस्रो चरणको छायाङ्कन दसैँलगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिनुभयो ।
‘म मदनकृष्ण’ मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुभएको छ । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई पनि देख्न पाउने छन् । उहाँले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नुभएको छ । अरुण क्षेत्री हरिवंश आचार्य बन्नुभएको छ ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै सम्पूर्ण जीवन सङ्घर्ष र आरोहअवरोह समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को कथा तथा पटकथा यम थापाले लेख्नुभएको हो । मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतका कथा बायोपिकमा समावेश हुने छ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दिया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहने छ । बालकलाकारमा जेविस र जेविन श्रेष्ठ हुनुहुन्छ । चलचित्र ‘म मदनकृष्ण’ चैत ४ बाट प्रदर्शनमा आउँदै छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्