२४ श्रावण २०८३, आईतवार

टेक्सासमा एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

कोलोराडोखबर संवाददाता , August 9th, 2026

अमेरिका । अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ । उक्त प्लान्ट कम्पनीका नयाँ डेटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ ।

पेकोस काउन्टीमा निर्माण हुने उक्त प्लान्टबाट सात दशमलव ६५ गिगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । यसमा ३५ वटा टर्बाइन रहने छन् । यो हाल संयुक्त राज्य अमेरिकामा सञ्चालनमा रहेका ग्यासबाट विद्युत उत्पादन गर्ने प्लान्टमध्ये सबैभन्दा ठूलो हुनेछ ।

प्लान्टबाट वार्षिक तीन करोड मेट्रिक टनभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्न अनुमति दिइएको छ । यो अमेरिकामा कुनै एकल स्रोतबाट हुने सबैभन्दा ठूलो उत्सर्जन हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, वास्तविक उत्सर्जन अनुमति दिइएको सीमाभन्दा कम हुने गर्छ ।

बजार अनुसन्धान कम्पनी क्लीनभ्यूले अमेजनले हालै दायर गरेका तीनवटा डेटा सेन्टर निर्माण अनुमतिपत्रको अध्ययन गर्दै प्लान्ट र डेटा सेन्टरबीचको सम्बन्ध सार्वजनिक गरेको थियो । प्लान्ट प्यासिफिको इनर्जीले निर्माण गरिरहेको छ र यसलाई ‘जीडब्ल्यू रान्च’ नाम दिइएको छ ।

अमेजनका अनुसार आफ्नै विद्युत उत्पादन गर्दा डेटा सेन्टरका लागि आवश्यक पूर्वाधारको लागत सामान्य उपभोक्तामाथि पर्ने छैन । कम्पनीले डेटा सेन्टर सञ्चालनका लागि विद्युतको पूर्ण लागत आफैँले बेहोर्ने जनाएको छ । “अमेजनले हाम्रो सञ्चालनका लागि आवश्यक विद्युतको पूर्ण लागत तिर्नुपर्छ भन्ने विश्वास गर्छ,” कम्पनीका प्रवक्ताले भन्नुभयो ।

कम्पनीका अनुसार पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टर परिसर नयाँ स्थलगत विद्युत उत्पादनबाट सञ्चालन हुनेछ । विद्युत प्रसारण प्रणालीसँग जोडिने समय रेखा अनुसारपछि राष्ट्रिय विद्युत ग्रिडसँग जोडिने गरी परियोजना डिजाइन गरिएको छ । अमेजनले उक्त क्षेत्रमा सौर्य ऊर्जा तथा ब्याट्री भण्डारण प्रणाली प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको जनाएको छ ।

डेटा सेन्टरका लागि गैरपेयजलयोग्य खारा भूमिगत पानी प्रयोग गरिने र यसबाट स्थानीय जलस्रोतमा पर्ने दबाब कम हुने कम्पनीको दाबी छ । अमेजनले सन् २०४० सम्ममा आफ्नो कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । कम्पनीका अनुसार टेक्सासमा करिब १० गिगावाट क्षमताका ४० वटा कार्बनरहित ऊर्जा परियोजनालाई समेत सहयोग गरिएको छ ।

डेटा सेन्टरका लागि विद्युत उत्पादन गर्ने यस्तो ‘मिटरपछाडि’ प्रणाली पछिल्लो समय प्रविधि कम्पनीमा बढ्दै गएको छ । एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टरका लागि ठूलो मात्रामा तत्काल विद्युत आवश्यक पर्न थालेपछि कम्पनीले राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने उपाय खोजिरहेका छन् । बजार अनुसन्धान कम्पनी क्लीनभ्यूका अनुसार मेटा, माइक्रोसफ्ट र ओरेकललगायत ठूला प्रविधि कम्पनीलेसमेत करिब ९७ गिगावाट क्षमताका यस्ता परियोजना अघि बढाउने योजना बनाएका छन् ।

विश्लेषकका अनुसार यस्ता परियोजनाबाट हुने कार्बन उत्सर्जन उल्लेखनीय हुन सक्छ । परियोजनाको सङ्ख्या, टर्बाइनको दक्षता र सञ्चालनको अवधिअनुसार वार्षिक कार्बन डाइअक्साइड उत्सर्जन २० करोड मेट्रिक टनभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ ।

युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका ऊर्जा विश्लेषक जोन रोजर्सले प्राकृतिक ग्यासको प्रयोगबाट विद्युत् उत्पादन गर्ने अझ प्रभावकारी उपायहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार प्रस्तावित प्लान्टले त्यस्ता विकल्प प्रयोग नगरेकाले वातावरणीय तथा स्थानीय प्रदूषणको जोखिम बढ्न सक्छ ।

कोइलाभन्दा प्राकृतिक ग्यासबाट हुने प्रदूषण कम भए पनि ग्यास प्लान्ट हरितगृह ग्यास उत्सर्जनका महत्वपूर्ण स्रोत हुन् । प्राकृतिक ग्यासको मुख्य घटक मिथेन उत्पादन, प्रशोधन र ढुवानीका क्रममा चुहावट हुन सक्ने भएकाले यसले जलवायु परिवर्तनमा थप असर पार्ने विज्ञहरूको भनाइ छ ।

ग्यास प्लान्टबाट कार्बन उत्सर्जनका अतिरिक्त सूक्ष्म कण, नाइट्रोजन अक्साइड तथा पारा, फर्माल्डिहाइड र बेन्जिन जस्ता हानिकारक वायु प्रदूषकसमेत उत्सर्जन हुने गर्छन् । यस्ता प्रदूषक मुटु तथा फोक्सो सम्बन्धी समस्या र श्वासप्रश्वास सम्बन्धी रोगसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्