२२ श्रावण २०८३, शुक्रबार

नेपालमा कर्मचारीको नयाँ तलबमान स्वीकृत

कोलोराडोखबर संवाददाता , August 7th, 2026

नेपाल । सरकारले कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यसेवा, संसद्सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको नयाँ तलबमान र सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने र त्यसमा थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । तलब बढाउने उक्त घोषणा कार्यान्वयनका लागि अर्थ मन्त्रालयले नयाँ तलबमान कायम गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।

अर्थको सोही प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो । यससँगै साउन १ गतेदेखि लागु हुने गरी कर्मचारीले सो तलब प्राप्त गर्ने छन् । बढेको तलब मन्त्रालयमातहतका निकाय, समिति, सार्वजनिक संस्थानमा पनि कार्यान्वयनमा आउने छ ।

अर्थ मन्त्रालयका अनुसार बढेको तलबसहित सबैभन्दा धेरै तलब मुख्यसचिव र प्रधानसेनापतिको हुने छ । दुवैको तलब दुई ग्रेडसहित ९० हजार ५९४ रुपियाँ हुने छ । त्यस्तै सचिवको तलब दुई ग्रेडसहित ८४ हजार ५७६ रुपियाँ पुग्ने छ । सहसचिवको तलब सात ग्रेडसहित अधिकतम ७७ हजार ४० रुपियाँ कायम हुने छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको तलब सचिवसरह अर्थात् दुई ग्रेडसहित ८४ हजार ५७६ रुपियाँ हुने छ । संसद्सेवाका विशिष्ट कर्मचारीको तलब पनि दुई ग्रेडसहित ८४ हजार ५७६ रुपियाँ हुने छ । स्वास्थ्यसेवातर्फ बाह्रौँ तहको अधिकृतको तलब ८४ हजार ५७६ रुपियाँ हुने नयाँ तलबमानमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकमध्ये माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकको तलब छ ग्रेडसहित ७४ हजार ९५८ रुपियाँ हुने छ । प्रदेश तथा स्थानीय तह (निवृत्तिभरण प्रयोजन) का एघारौँ तहका अधिकृतको तलब पाँच ग्रेडसहित ७७ हजार ६२९ रुपियाँ पुग्ने छ ।

उल्लिखित तलब भत्ताबाहेकको हो । यसमा प्रोत्साहन भत्ता र यसअघि उपलब्ध गराइँदै आएको महँगी भत्ता पनि थप हुने छ । भत्तासहितको कुल तलब भने उल्लिखित तलबभन्दा बढी हुने छ । संस्थानको प्रकृति अनुसार विभिन्न शीर्षकमा पनि भत्ता उपलब्ध हुँदा कर्मचारीले प्राप्त गर्ने तलब नयाँ तलबमानभन्दा उल्लेख्य रूपमा बढी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्