९ श्रावण २०८३, शनिबार

अष्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बरमा ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी शुरु

कोलोराडोखबर संवाददाता , July 25th, 2026

अमेरिका । नेपाली चलचित्र इतिहासमा अर्को गौरवपूर्ण तथा ऐतिहासिक अध्याय थपिएको छ ।

१७ डिसेम्बर २०२६ मा अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ आगामी आयोजना हुने भएको छ ।

यस ऐतिहासिक अन्तर्राष्ट्रिय कार्यक्रमको सफल आयोजनाका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड LLC का तर्फबाट सञ्जय खतिवडा (प्रतिनिधि तथा नेपाल संयोजक) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाका तर्फबाट अरुण श्रेष्ठ (संस्थापक तथा आयोजक) ले हस्ताक्षर गर्नुभएको हो ।

‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगत २०१६ देखि आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो ।

आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्वबजारसम्मको नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ८ संस्करणहरू अमेरिकाको कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

नेपाल फिल्म सोसाइटी, नेपालको चेयरपर्सन वरिष्ठ नायक/निर्देशक कृष्ण मल्ल हुनुहुन्छ भने, ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सि (GNFA) USA का चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्