नेपाल । हात्तीसारस्थित ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ ।
विक्रम संवत २००९ मा स्थापना भई नेपाली चलचित्र इतिहासको जीवन्त साक्षी बनेको यो हल कोरोना महामारीका कारण शिथिल बन्दै विसं. २०७८ मा पूर्ण रूपमा बन्द हुन पुगेको थियो । हाल ‘बज इन्टरटेनमेन्ट’को नयाँ व्यवस्थापनले यसलाई आधुनिक र आकर्षक शैलीमा पुनर्जीवित गरेको हो ।
दशकौँसम्म काठमाडौँको चलचित्र संस्कृतिको मुख्य खम्बाका रूपमा रहेको जय नेपाल सिनेमाज क्युएफएक्स ब्रान्डको सुरुआत विन्दु मात्र नभएर विगतमा राजपरिवार र दिग्गज कलाकारहरूको समेत मनपर्ने केन्द्र थियो । लामो समयको अन्तरालपछि हल पुनः सञ्चालनमा आउँदा नयाँ पुस्ता (विशेष गरी १८ देखि ३० वर्ष उमेर समूह) का दर्शकले आधुनिक मल्टिप्लेक्सभन्दा फरक, एउटा ऐतिहासिक विरासत बोकेको हलमा चलचित्र हेर्ने दुर्लभ मौका पाउनेछन् ।
हलका अध्यक्ष सञ्जय वास्तब श्रेष्ठ, प्रबन्ध निर्देशक रुपेश श्रेष्ठ र बोर्ड निर्देशक हरिकृष्ण लोहनीले अघि सार्नुभएको यो व्यावसायिक रणनीति निकै सन्तुलित र सराहनीय छ । एउटा ऐतिहासिक, सिंगल–स्क्रिन थिएटरलाई केवल व्यापारिक केन्द्रका रूपमा मात्र नलिनु र यसलाई ‘नेपाली चलचित्रको जीवन्त संग्रहालय’ का रूपमा संरक्षण गर्नु समग्र चलचित्र उद्योगकै लागि गौरवको कुरा हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्