नेपाल । निर्वाचनको कारण हलमा दर्शक पातलिएको बेला अब चैत महिनामा भने हलमा दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउने भएका छन् । चैतमा चार वटा चलचित्र प्रदर्शनमा आउँदै छन् । चैतको दोस्रो साता अर्थात् १३ गते एक मात्र चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन हुँदै छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन नहुने देखिएकाले यसले एकल प्रदर्शनको अवसर पाउने छ ।
त्यस्तै चैतको अन्तिम साता अर्थात् २७ चैतमा तीन चलचित्र ‘३६ को आँकडा’, ‘राम नाम सत्य’, ‘डल्लेले इन्ट्री मार्यो’ भिड्ने पक्कापक्की जस्तै छ ।
‘हामी तीन भाइ’ एकल रिलिज हुने देखिन्छ, चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र गाउँले परिवेशमा बनाइएको छ । दाजुभाइबिचको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको छ । निर्देशन मधुसूदन भट्टराई यस चलचित्रका निर्देशक हुनुहुन्छ । चलचित्रले दाजुभाइको जीवनमा विवाहपछि आउने खटपट र त्यसपछिको सङ्घर्षलाई पनि कथामा देखाउन खोजिएको छ । प्रसिद्धि सिने आटर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, रवीन्द्र झा, राजाराम पौडेल, विष्णु सापकोटा (हर्के हल्दार), यादव देवकोटा (सरापे) लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
अभिनेतृ रेखा थापाले निर्माण गर्नुभएको चलचित्र ‘३६ को आँकडा’ सामाजिक विषयवस्तुमा आधारित छ । सविर श्रेष्ठ निर्देशित चलचित्रमा रेखा थापा, पूजा शर्मा, निरुता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । निरुता यो फिल्ममार्फत बर्सौंपछि हलको पर्दामा देखिन लाग्नुभएको हो । चलचित्र रेखा फिल्म्स् र काइट्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको हो ।
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ पनि प्रदर्शनमा त्यही दिन आउँदै छ । रोशनी खड्काको प्रमुख भूमिका रहने चलचित्रमा सागर लम्साल ‘बले’ पनि देखिँदै हुनुहुन्छ । राजु गिरीको निर्देशन रहेको चलचित्रले अपाङ्गता भएका व्यक्तिको क्षमता र समाजको हेराइको कथा उठाएको छ ।
माइकल चन्दको निर्देशन रहेको चलचित्र चलचित्र ‘राम नाम सत्य’ मा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार, खुसी कार्कीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिलरको मिश्रण देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र माइकल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्र क्रियटिभ निर्माता मोती कार्की हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्