१ फाल्गुन २०८२, शुक्रबार

विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण

कोलोराडोखबर संवाददाता , February 13th, 2026

अमेरिका । ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णय भएको छ ।

नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीको संयुक्त बैठकले विशिष्ट अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको सम्मानमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएकाअध्यक्ष तथा वरिष्ठ नायक नवराज श्रेष्ठको सहभागितामा भएको उक्त बैठकले अभियान संस्थाको तर्फबाट स्व. सुनिल थापालाई मरणोपरान्त “अभियान रत्न सम्मान” प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा उहाँलाई “ग्लोबल दीर्घ साधना सम्मान” प्रदान गरिने निर्णय भएको छ ।

नेपाल चलचित्र क्षेत्रमा स्व. सुनिल थापाले पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँको स्मृतिलाई सदा अमर राख्ने उद्देश्यले यी सम्मान स्थापना गरिएको ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएकाअध्यक्ष तथा वरिष्ठ नायक नवराज श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्