२८ माघ २०८२, बुधबार

काठमाडौँ उपत्यकाबाट चलचित्र ‘कस्तुरी’ को छायाङ्कन सुरु

कोलोराडोखबर संवाददाता , February 11th, 2026

नेपाल । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

काठमाडौंको बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।

प्रत्यक्ष रुपमा आफू संलग्न नभए पनि मुलुकको राजनीतिका बारेमा हरेक नागरिकले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै अभिनेता उप्रेतीले भन्नुभयो, ‘हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न जरुरी छ ।’

यसैबीच चलचित्र ‘कस्तुरी’ को छायाङ्कन मंगलबारदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ । निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने उक्त चलचित्रमा अभिनेता उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायत कलाकारले अभिनय गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्