नेपाल । नयाँ बानेश्वरमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ । संसद् भवनअगाडिको सडकपेटीमा विभिन्न कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो ।
सो प्रदर्शनीमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलाकृति प्रदर्शन गरिएको छ । कलाकारले प्रदर्शनीमार्फत युवाको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका हुन् ।
भदौ २३ र २४ को घटनाको सम्झनाको स्मरण गर्ने, राजनीतिक सुधारका लागि कलाकारको सक्रियता देखाउने, आन्दोलनको कारण खोजी गर्ने तथा कलाकारको सिर्जनाबाट जनताको आवाज बुलन्द पार्न उद्देश्यले कला प्रदर्शनीको आयोजना गरिएको प्राज्ञ जुपिटर प्रधानले बताउनुभयो ।
‘युवामा सामाजिक चेतना फैलाउनु र कलाकारको प्रतिनिधित्वले नेपालको राजनीतिक र सामाजिक संरचनामा आवश्यक सुधार ल्याउन सशक्त माध्यम बन्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । जेनजीको ‘बलिदान’ लाई बेवास्ता नगर्न खबरदारी गर्ने कला प्रदर्शन गरिएको उहाँको भनाइ थियो ।
प्रदर्शनीमार्फत आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । चित्रकला, स्केच, पोस्टर आर्ट, प्रतीकात्मक कला र सन्देशमूलक कृतिहरू प्रदर्शनीमा राखिएका थिए ।
आयोजकका अनुसार ‘नदबिने आवाज’ केवल कला प्रदर्शनी मात्र नभई सामाजिक चेतना जगाउने अभियानसमेत हो । प्रदर्शनीमा कलाकार स्वयंले आआफ्नो कलाकृतिलाई शान्तिपूर्ण रूपमा संसद् भवनको पर्खालसँगै सडक पेटीमा उभिएर प्रदर्शन गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्