कोलोराडो । अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा आगामी नोभेम्बर २३ मा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ ।
अन्तर्राष्ट्रिय सहभागिहरूको समय तालिका अनुकूल बनाउने, विश्वभर रहेका नेपाली समुदायको सहभागिता बढाउने तथा कार्यक्रमलाई अझ प्रभावशाली र समावेशी बनाउने उद्देश्यले २३ नोभेम्बर आइतबारका दिन कार्यक्रम गर्ने तय भएको हो ।
ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको बताउनु भयो । कार्यक्रमको मिति नजिकिएसँगै अब तयारी पनि अन्तिम चरणमा रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रम बोल्डर थिएटरमा साँझ ४ बजेदेखि सञ्चालन हुनेछ ।
‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको छ । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको नायक श्रेष्ठले बताउनु भयो ।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहनु भएको छ भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ हुनुहुन्छ ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ ।
अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले जानकारी दिनु भयो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्