अमेरिका । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर्नुभएको छ ।
बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजित ‘नेपाल–बेलायत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको उक्त कदमप्रति आभार प्रकट गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।
दुई देशबीचका ऐतिहासिक सम्बन्धलाई आज जनस्तरको सहकार्यले बढाउँदै लगेको उल्लेख गर्दै नेता कोइरालाले यही सम्बन्धका आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्कोतर्फबाट निरन्तर सहयोगका लागि बेलायती सरकारप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले गोर्खा सैनिकले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवालाई मध्यनजर गर्दै उहाँहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन आग्रह गर्नुभयो । सङ्कटमा बेलायतले गरेको सहयोग प्रशंसनीय नेपालमा सङ्कट परेको बेलामा बेलायत सरकारले गरेका निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा प्रगाढ बनाएको कांग्रेसका नेता डा कोइरालाले बताउनुभयो । एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ को बेलामा गरेको सहयोगहरू उल्लेख्य भएको भन्दै प्रशंसा गर्नुभयो ।
नेपाल सरकारले वैदेशिक लगानी मैत्री वातावरण बनाएको जानकारी गराउँदै उहाँले नेपालमा बेलायती लगानी सकारात्मक भए पनि यसमा अझ वृद्धि गर्न सकिने अपेक्षा राख्नुभयो । विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठुला बजार भएका दुई देशका बीचमा नेपाल अवस्थित रहेको बताउँदै उहाँले स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायत अन्य क्षेत्रमा नेपालमा लगानी गर्न बेलायतका उद्यमीहरूलाई आग्रह गर्नुभयो । विभिन्न समयमा हुने उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावतलगायतले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गरेको उल्लेख गर्दै नेता कोइरालाले दुई देशका सांसदहरूको भ्रमण र विचार आदानप्रदानले बहुआयामिक सम्बन्ध प्रगाढ बनाएको बताउनुभयो ।
उहाँले आफू नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको अवगत गराउँदै सन् १९४० को दशकदेखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू व्यहोरेको उहाँले जानकारी दिनुभयो ।
नेता कोइरालाले लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेका उल्लेख गर्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले सन् १९७० को दशकमा उक्त विषय बुझेर सचेत गराउँदै भन्नुभएको विषय उद्धृत गर्नुभयो ।
कार्यक्रममा बेलायतका उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमस र एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्टले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्