नेपाल (हेटौँडा) । मकवानपुरको मनहरीमा भैँसीको आक्रमणले बिहीबार बाघको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो । बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगेको छ ।
गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।
नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ ।
भैंसीको आक्रमणमा बाघ मरे पछि यो घटनाले देशविदेशमा चर्चा पाएको छ । धेरै जनाले समाजिक सञ्जालमा विविध खालका प्रतिक्रिया जनाएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्