नेपाल । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ ।
ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो । यही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्