३० फाल्गुन २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीमा हलचलः महामन्त्री ढकाल निलम्बित

कोलोराडोखबर संवाददाता , July 4th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।

ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

बुधबार सम्पन्न केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर सहभागी भएका थिए ।

ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको हो । उनले प्रतिवेदनमा पार्टी जनस्तरमा कमजोर हुँदै गएको र अब पनि नसच्चिए २०८४ मा पार्टीलाई राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने उल्लेख गरेका थिए ।

यता, निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।

पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफू नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् । उनी पार्टी सभापति रवि लामिछानेप्रति आक्रोशित सुनिएका थिए ।

उनले पार्टीमा गरेको शालीन विद्रोहपछि उनलाई पार्टीले एक साताका लागि पदबाट निलम्बन गरेको छ । उनलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाटसमेत हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्