४ चैत्र २०८२, बुधबार

नेपालमा सत्ता गठबन्धन फेरिने करीब निश्चित, एमाले-काँग्रेसको सरकार बन्दै

कोलोराडोखबर संवाददाता , July 2nd, 2024

नेपाल । नेपालमा सत्ता गठबन्धन फेरिने करीब निश्चित भएको छ ।

सोमबार मध्येरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बनाउने सहमति भएको हो ।

नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल गरेका थिए ।

राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुबै दलका नेताहरुबीच नयाँ सरकारको लागि सहमति बनेको हो ।

सहमति अनुसार संघीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन् । त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहितको मन्त्रालय पाउने भएको छ । संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।

सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

हाल एमाले, रास्वपा, नेकपा एससहितका दलको समर्थनमा नेकपा माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्