नेपाल । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ ।
बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उहाँलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् । मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उहाँलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो ।
माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हाल्नुभएको थियो । उहाँको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो । माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाउनुभएको थियो । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्