नेपाल (हेटौँडा) । मकवानपुरको बकैया गाउँपालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयास सुरु गरेको छ । करार भर्ना गरिने शिक्षक छनोटका लागि पहिलो पटक खुला प्रतिस्पर्धा गराएर पालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयासको थालनी गरेको हो ।
करार सूचीमा सूचीकृत गर्न करार शिक्षक छनोटको क्रममा आवेदन दिएकाको शुक्रबार परीक्षा सञ्चालन गरिएको छ ।
विभिन्न विषयमा माध्यमिक तह, निम्न माध्यामिक तह र प्राथमिक तहमा करार शिक्षकका लागि आवेदन दिएका परीक्षामा सहभागी भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो ।
करार शिक्षकका लागि करार सूचीमा सूचीकृत हुन भन्दै ४४१ जनाले आवेदन दिएका थिए। शिक्षक भर्ना गर्ने समयमा भनसुन हुने र आफ्नालाई राख्न दबाब आउने गरेको बताउँदै अध्यापन गराउने समयमा कमजोर हुँदा विद्यार्थीको शैक्षिक स्तर खस्कँदै गएपछि गुणस्तरीय शिक्षकको खोजीमा करारमा भर्ना गरिने शिक्षकको खुला प्रतिस्पर्धाबाट परीक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले पहिलो पटक गरिएको यो अभ्यासले पालिकाको शिक्षामा गुणस्तरीयता ल्याउन सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको करार शिक्षक छनोट कार्यविधि २०६० बनाएर करार सूचीमा सूचीकृत गर्ने प्रयोजनार्थ करार शिक्षक छनोट प्रक्रिया सुरु गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएकाको मौखिक परीक्षापछि उत्तीर्ण भएकामध्ये पालिकाका विभिन्न विद्यालयमा रिक्त रहेका २० भन्दा बढी दरबन्दीमा नियुक्ति दिने पालिकाले तयारी गरेको छ । पालिकाले करार सूचीमा सूचीकृत गर्न विभिन्न तहका गरी १७० शिक्षक माग गरेको थियो। गाउँपालिकामा हाल ७२ वटा सामुदायिक विद्यालय छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्