नेपाल । संसदको गतिरोध अन्त्यका विषयमा गम्भीर बन्न आग्रह नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापनि शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपालले प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,‘संसद जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ। अहिले संसद अवरुद्धजस्तै भएको छ। संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ। नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रि हुनुपर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद छ।’
ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ,‘प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ। हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं(संसदका नियमित काम(कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ताद्धारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गम्भीर पहल गर्नुहोस्। कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव सम्माननीय प्रधानमन्त्रीज्यूलाई छ भन्ने कुरामा हाम्रो पार्टी विश्वस्त छ। यसर्थ, संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा सम्माननीय प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्।हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुनेछ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्