३० चैत्र २०८२, सोमबार

प्रधानमन्त्री बालेन्द्रसँग १ करोड ४६ लाख बैंक मौज्दात, १९० तोला सुनः कुन मन्त्री कति धनी ?

कोलोराडोखबर संवाददाता , April 13th, 2026

नेपाल । आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रिपरिषद् सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आइतबार सार्वजनिक भएको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मुख्य आम्दानीको स्रोत सामाजिक सञ्जाललाई देखाउँदै बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ उल्लेख गरेका छन्।

फेसबुकमा ४० लाख र युट्युबमा १२ लाख फलोअर्स रहेका शाहको आफ्नो नाममा घरजग्गा नभए पनि पत्नी सविना काफ्लेको नाममा १९० तोला पैतृक सुन रहेको छ ।

यस्तै, गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको पाइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सानेपा र तनहुँसहित चार स्थानमा घर र अपार्टमेन्ट रहेको खुलाउनुभएको छ भने उहाँको बैंक ब्यालेन्स १ करोड ९० लाख र सुन ४५ तोला रहेको छ ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरूमध्ये परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र विभिन्न कम्पनीको शेयर छ भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ६४ लाख रुपैयाँ बैंक मौज्दात छ ।

कानुनमन्त्री सोबिता गौतमले १० तोला सुन र १० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गर्दै गाडी खरिदका लागि लिएको ऋणको विवरण समेत सार्वजनिक गरेकी छन् ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग ९० लाख बैंक ब्यालेन्स र ३० तोला सुन छ भने संघीय मामिला मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा जग्गा तथा ४४ लाखको गाडी रहेको देखिएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको परिवारको संयुक्त अचल सम्पत्ति करिब २० करोड बढीको देखिएको छ, जसको खुद सम्पत्ति करिब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले १८ तोला सुनका साथै २० वटा कुखुरा र एउटा कुकुर रहेको रोचक विवरण पेश गरेकी छन् ।

त्यस्तै, कृषिमन्त्री गीता चौधरीले ५ तोला सुन, ५० हजारको घडी र माइतीले दिएका दुई वटा बाख्रा र १० कुखुरा रहेको खुलाएका ।

प्रतिक्रिया दिनुहोस्