नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरेको छ l
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा विशेषगरी दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने उपाय, तथा विदेशमा अध्ययन र पेशागत अनुभव हासिल गरेका प्राविधिक जनशक्तिलाई देश विकासमा उपयोग गर्ने विषयमा विस्तृत छलफल भएको हो।
भेटमा अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपाली युवासँग पर्याप्त ज्ञान, सीप र नवीन प्रविधि रहेको उल्लेख गर्दै ती क्षमतालाई नेपालभित्र उपयोग गर्न नीतिगत तथा संस्थागत सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले ज्ञान रूपान्तरण (knowledge transfer) का माध्यमबाट देशको विकास प्रक्रियालाई गति दिन सकिने बताउनुभयो।
त्यसैगरी, मन्त्री पोखरेलले विदेशमा रहेका नेपाली युवाको क्षमता, अनुभव र प्रविधिलाई नेपालसँग जोड्ने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस दिशामा आवश्यक सहकार्य र कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्