२८ चैत्र २०८२, शनिबार

कविता: शोक

कोलोराडोखबर संवाददाता , April 11th, 2026

-सुदीपभद्र खनाल-
को गर्लान् भन शोक मर्दछ भने कोही यहाँ आखिर
यस्को मापक प्रेम हो तर सधैँ रोएर को बस्छ र
पत्नी को त विछोडमा पति रुने दोश्रो विहेसम्म हो
एक्लै बस्छ भने विदूर सतसत् आजन्म नै रून्छ त्यो

पत्नीका पति मर्दछन् यदि रुनन् घाटे नफर्के तक
मर्नेका पछि लाग्न सक्दछ र को भन्लान् अझै निर्धक
जो जो जान्छ मलाम बन्धु जन ती रोलान् नपोल्दातक
छोराको मन रुन्छ तेह्र दिनको संस्कार गर्दातक

साथी रून्छ जुटेर चार दिन ती भाई रुनन् एक्छिन
भन्ला यो दुनियाँ गयो मिति पुग्यो यो हो जगत् लक्षण
सन्तानै यदि मर्छ ता ! भलभली बाबा रुनन् सम्झिँदा
आमाको गह रोकिँदैन कहिल्यै रुन्छिन् नि आमा सदा

सम्झेलान् बहिनी दिदी वह परी फर्केभने माइत
हेर्लान् पण्डित बार साइत तिथी मर्दा छ के साइत
छोरीको मन रुन्छ जीवन भरी बाबा र आमा ढले
आफैँ मानव रुन्छ अन्त्य पलमा रे मोहका पाशले

अमेरिका ।

प्रतिक्रिया दिनुहोस्