-आर. आर. चौलागाईं-
पुराना बासी अनुहारले
पुरानै खोज्छन्
नयाँ ताजा अनुहारले
नयाँ नै खोज्छन् ।
पोखरीमा फोहर पानी जमेर बसेको छ
पहिला त्यसलाई फाल्नोस्
बगैँचामा झारपात उम्रेर झाडी भएको छ
पहिला त्यसलाई फाँड्नोस्
घरमा सर्प, बिच्छी, भ्यागुता, माकुरा
र किराफट्याङ्ग्राहरूको वास छ
पहिला तिनीहरूलाई सखाप पार्नोस् ।
आकाशमा कालो बादल मडारिएको छ
पहिला त्यसलाई हटाउनोस्
धरतीमा जताततै खाल्डैखाल्डा छन्
पहिला त्यसलाई पुर्नोस्
दुर्योधन, दु:शासन, शकुनि र शिशुपालहरू
यत्रतत्र सर्वत्र फैलिएका छन्
पहिला तिनीहरूलाई वशमा लिनोस् ।
तपाईँहरूले रगत बगाएको के काम ?
तपाईँहरूले सपना देखेको के काम ?
यसरी चल्दैन
चल्दै चल्दैन
पटक्कै चल्दैन
परिवर्तन त आमूल हुनुपर्छ
नत्र सधैँभरि यस्तै गन्जागोल भइरहन्छ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्