२२ चैत्र २०८२, आईतवार

कथा दिवसको अवसरमा विभिन्न सर्जकहरूलाई सम्मान तथा पुरस्कार प्रदान

कोलोराडोखबर संवाददाता , April 5th, 2026

नेपाल । साहित्यिक पत्रकार संघले ४५औँ कथा दिवसको अवसर पारेर विभिन्न सर्जकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

संघले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘भवानी साहित्यिक पत्रकारिता सम्मान’ साहित्यिक पत्रकार रमेश पोखरेललाई प्रदान गरेको छ । उनी शब्द संयोजन मासिकका कार्यकारी सम्पादक हुन् । त्यस्तै साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक–प्रकाशक) लाई सम्मानित गरेको छ ।

कार्यक्रममा ‘लोकप्रिया पुरस्कार’ साहित्यकार प्रतिसरा सायमीलाई प्रदान गरियो ।

उक्त कार्यक्रममा कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’लाई ‘व्यथित काव्य सम्मान’ प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले सम्मान तथा पुरस्कार प्रदान गरे ।

संघले घोषित ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहेकाले पछि प्रदान गरिने जनाएको छ ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघले नियमित रूपमा गर्दै आएको कामहरूका विषयमा जानकारी दिए । उक्त अवसरमा पुरस्कृत स्रष्टाहरूको परिचय साहित्यकार प्रमोद प्रधानले दिए ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मान र पुरस्कार चयनबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्