२१ चैत्र २०८२, शनिबार

कविता: सँधैलाई रहन्न म

कोलोराडोखबर संवाददाता , April 4th, 2026

-सुदीपभद्र खनाल-

डराए पनि बाँचिन्न मर्नै पर्दछ आखिर
मृत्यु शास्वत हो सत्यबाट को भाग्न सक्छ र?
न कसैले जितेको छ काललाई र जित्छु म
सृष्टि हो कालको खाजा सधैँलाई रहन्न म

अनित्य जो म आफैँ हूँ नित्यको खोज गर्दछु
साक्षात् सत्य भए मात्रै इहलोक म तर्दछु
राजा होस् रङ्क होस् मान्छे कालका अघि तन्नम
सृष्टि हो कालको खाजा सधैँलाई रहन्न म

नाश भौतिक हो सत्य आत्मा शाश्वत नश्वर
दृश्य अदृश्य मात्रै हो चेत हो अजरामर
स्वयं स्रष्टा स्वयं द्रष्टा सत्चितानन्द जङ्गम
सृष्टि हो कालको खाजा सँधैलाई रहन्न म

जो जन्मेथे मरेका छन् जन्मने मर्छ जान्दछु
जान्दा जान्दै नजानेझैँ गर्छु यो पनि मान्दछु
तोडिन्न मोह माया यो अविजेय छ यो तम
सृष्टि हो कालको खाजा सँधैलाई रहन्न म

धर्ती यो धर्मशाला हो हामी हौँ पाहुनाहरू
कति आए गए सारा हामी झैँ अरबौँ अरू
भेटिने मित्र यात्राका जान्छन् बिर्सेर सङ्गम
सृष्टि हो कालको खाजा सँधैलाई रहन्न म

बुढो पात झरी खिल्छन् चिउला नव पल्लव
जिन्दगी जिन्दगी जस्तो तब पो बन्छ वास्तव
यात्रा हो जिन्दगी यौटा नौलो गन्तव्य चुन्छु म
सृष्टि हो कालको खाजा सँधैलाई रहन्न म

नाश विनाश मात्रै होइन निर्माण द्वार हो
नाशले मात्र संसार जिन्दगी यो अमूल्य हो
गतिमान छ यो सारा महादृश्य विहङ्गम
सृष्टि हो कालको खाजा सँधैलाई रहन्न म

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्