२१ चैत्र २०८२, शनिबार

लघुकथाः फोहरी हात

कोलोराडोखबर संवाददाता , April 4th, 2026

-आरसी रिजाल-

रामभक्तले बाटोबाट देखिने गरि मुलढोकाको दायाँबायाँ करिब ३/३ फिटको मातापिताको तस्बिर टाँगेका छन् । यो देख्दा बटुवाले उनको तारिफ गरेको सूनिन्छ ।..

एकदिन बिहान् म साथीसंग घुम्न निस्केको थिएँ ।बाटोमा रामभक्त श्रीमतीसंग आउँदै थिए।श्रीमतिले बुवा पशुपतिनाथको चन्दन लगाउनुस् भनिन् ।मैले टाउको निहुँर्‍याएँ।साथिले — पर्दैन नानी हामी मन्दिर हिँडेका हौँ।उतै लगाउछु भने।

अलिपर पुगेपछि साथिले — तिम्रो घर अलिटाढा छ। म यिनको छिमेकी ।यिनहरुले वृद्ध पितालाई जिउँदो छँदा धर्धरी रुवाएको देख्याछु। ढोकामा झुन्ड्याको तस्वीर त पितृभक्त भएको नाटकमात्र हो। यिनहरुले केही सम्पत्ति जोडेका छैनन्। ऎले गुजारेका मस्तिको जीवन बाबुकै पसिना हो। बाबुको मृत्यु संस्कारमा पनि सारै कन्जुस्याइँ गरे। आमाबाबुको इज्जत गर्न नसक्नेले मन्दिरमा छिर्नुलाई म त पाप ठान्छु ।यिनिहरुले बाटो बिराइसके । भगवानसम्म पुग्ने बाटो त आमाबाबुको चरणबाट सुरुहुन्छ ।

यिनिहरु दर्शन हैन क्षमामाग्न गएका हुनुपर्छ। तर क्षमा त अन्जानमा गरेको गल्तीमा मात्र पाइन्छ । जानाजान गरेको पाप त जुनसुकै तिर्थमा गए पनि पखालिदैन होला नि! त्यसैले त्यो फोहरी हातलाई मेरो निधारमा छुन नदिएको हुँ भने ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्