२१ चैत्र २०८२, शनिबार

गणेश जिसीलाई ‘लक्षिमा-शेरबहादुर रानाभाट स्मृति पुरस्कार’

कोलोराडोखबर संवाददाता , April 3rd, 2026

नेपाल । ‘लक्षिमा-शेरबहादुर रानाभाट स्मृति पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार गणेशबहादुर जिसीलाई प्रदान गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समिति, बाँकेको आयोजनामा सम्पन्न गरिएको पुरस्कार वितरण तथा सम्मान अर्पण कार्यक्रममा वरिष्ठ साहित्यकार जिसीलाई साहित्य, पत्रकारिता तथा रेडियो नाटक क्षेत्रमा पु¥याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

१५ हजार १११ रुपियाँ नगद राशिको सो पुरस्कार प्रगतिशील लेखक सङ्घ नेपालका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव जीवेन्द्रदेव गिरी एवं पुरस्कारका संस्थापकद्वय भरतबहादुर रानाभाट र भीमबहादुर रानाभाटले संयुक्त रूपमा प्रदान गर्नुभयो ।

त्यसै गरी सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकी उपाध्यक्ष तथा राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जकी प्रमुख दुर्गा दिदीलाई पनि सोही अवसरमा स्मृति सम्मान प्रदान गरियो ।

भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वरी रिजाल ‘उल्कापात’ एवं पुरस्कारका संस्थापक रानाभाटद्वयले आफ्ना दिवङ्गत अभिभावकको स्मरण गर्दै कोष स्थापना र यसको यात्राबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा कोषमा हालसम्म सञ्चित रकम तीन लाख १३ हजार १११ पुगेको जानकारी दिइएको थियो । यसैबिच भीमबहादुर रानाभाटका सुपुत्र इन्जिनियर दीपक रानाभाटले थप ५० हजार १११ रुपियाँ सहयोग गर्दै कोषलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्