नेपाल । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी नयाँ सार्वजनिक सूचना अनुसार नेपालमा सुरक्षा स्थिति सामान्य बन्दै गएको उल्लेख छ । यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई घटाएर ‘थप सावधानी अपनाउनु पर्ने’ तहमा झारिएको छ ।
अद्यावधिक गरिएको सारांशमा भनिएको छ, ‘सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ । तर, सहरहरूमा अझै पनि स्थानीय स्तरमा सानातिना विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’
अमेरिकी नागरिकहरूलाई चेतावनी दिँदै भनिएको छ– प्रदर्शनहरू कुनै पूर्वसूचना बिना हुनसक्ने र कहिलेकाहीँ हिंसात्मक रूप लिन सक्ने भएकाले भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिइएको छ ।
नेपालको स्वास्थ्य सेवाका सम्बन्धमा एडभाइजरीमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा राम्रो भए पनि उपकरण र औषधीको अभाव हुन सक्ने उल्लेख छ । विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले आफ्ना नागरिकलाई अनिवार्य रूपमा ुट्राभल इन्स्योरेन्सु गर्न र आवश्यक औषधी साथमै बोक्न आग्रह गरिएको छ ।
नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हुनुका साथै जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा बाढी र पहिरोको उच्च जोखिम रहने कुरालाई पनि एडभाइजरीमा विशेष जोड दिइएको छ । बाढी(पहिरोले सडक अवरुद्ध हुने र आपत्कालीन सेवामा पहुँच कठिन हुन सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ ।
यात्रुहरूका लागि सुझाव:
-अमेरिकी दूतावासको ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ मा दर्ता हुन ।
-नेपालको पछिल्लो समाचारका लागि स्थानीय सञ्चारमाध्यमहरू नियमित रूपमा फलो गर्न ।
-भिडभाड र प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन ।
-यात्रा गर्नुअघि ‘इन्टरनेसनल ट्राभल चेकलिस्ट’ प्रयोग गर्न र व्यापक स्वास्थ्य बिमा सुनिश्चित गर्न ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्