१४ चैत्र २०८२, शनिबार

कविताः पूर्णापूर्ण

कोलोराडोखबर संवाददाता , March 28th, 2026

-सुदीपभद्र खनाल-
उता छुटेँ भनी ठान्थे यताबाट छुटेछु म
यता आएँ भनी ठान्दा उताफेरि छुटेछु म
यता भन्यो यता छुट्छु उता भन्दा यता छुटेँ
सधैँ आधा अपूर्णै छु पूर्ण बन्न वृथा कुदेँ

यहाँ पूर्ण कुनै छैन सृष्टि यो नै अपूर्ण छ
मात्र अज्ञानले ढाकी मान्छे ठान्दछ पूर्ण छ
म त्यो अज्ञानको जालो भित्रको ठान्छु पूर्ण हूँ
सत्य यौटै छ त्यो मात्रै पूर्ण हो म अपूर्ण हूँ

यता उता सबैतर्फ उ मात्रै छ कहाँ म छु
म छु भन्ने छ यो भान ईच्छाले उसकै कछु
म आफ्नो मनले हुन्न इच्छाले हुन्न प्रस्तुत
उसको चाहनाबाटै म हुन्छु नतमस्तक

छ को तत्व मसी बुझ्ने? माया भित्र पृयंवद
जगत् मित्थ्या परम् सत्य कालजेयी स्वयंभव
कहाँ हुन्छ र को हुन्न दृष्यादृष्य असंभव
उसैबाट छ निर्दिष्ट सृष्टि प्राकट्य यो सब

म हराएँ भने हेर्नू उसैका दिव्य ज्योतिमा
चम्किएँ म भने हेर्नू उसैका कण विन्दुमा
म केवल हूँ साक्षी हुनू वा नहुनू छ के !
म भित्र त्यो र त्यो भित्र म भए छ अपूर्ण के ?

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्