१३ चैत्र २०८२, शुक्रबार

प्रतिनिधि सभाका २७४ जना सदस्यको भयो शपथग्रहण

कोलोराडोखबर संवाददाता , March 27th, 2026

नेपाल । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका २७४ जना सदस्यले शपथग्रहण गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूले शपथग्रहण गर्नुभएको हो । नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउनुभयो ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले २७३ जना सदस्यले बिहीबार दिउँसो २ बजे निर्धारित समयमा नै शपथग्रहण गरेको तथा सो समयमा शपथ लिन छुटेका नवनिर्वाचित सदस्य रविन महतोले सभाका ज्येष्ठ सदस्यको कार्यकक्षमा शपथग्रहण गरेको जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ गत फागुन २१ गते सम्पन्न भएको थियो । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो ।

यसअघि ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य केसीले बुधबार राष्ट्रपतिबाट शपथ लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्