नेपाल । अग्रज कथाकार भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबिच लोकार्पित गरिएको छ । यो उहाँको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि उहाँको पहिलो लघुकथाकृति ‘रङ्गीन पोखरी’ प्रकाशित भएको थियो । कृतिमा प्रकृति, समाज र मानवीय जीवनसँग पानीको सम्बन्धका कुरालाई कृतिभित्र उल्लेख गर्न खोजिएको छ ।
लघुकथा समाज नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठलगायतले कृति लोकार्पण गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि डा। श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा जोड दिँदै कृतिभित्रका लघुकथाबारे आफ्नो धारणा राख्नुभयो । उहाँले कृतिको सम्पादनको चर्चा गर्दै सम्पादकले धेरै कुराको जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा समीक्षक डा. दीनबन्धु शर्माले श्रेष्ठका लघुकथामा साङ्केतिक प्रभाव र दार्शनिक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो । उहाँले श्रेष्ठका लघुकथाहरू हल्ला नगर्ने खालको भएको बताउनुभयो । त्यस्तै समीक्षक डा. हरिप्रसाद भण्डारीले श्रेष्ठका लघुकथाको प्रवृत्तिगत चर्चा गर्दै पुस्तकमा समेटिएका ५४ लघुकथाले समाजका विकृति विसङ्गतिसँगै राजनीति र देशको अवस्थामाथि तिखो व्यङ्ग्य गरेको उल्लेख गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले भागीरथी श्रेष्ठको उचाइ यस लघुकथाकृतिले अझ उठाएको बताउनुभयो । पाठकको माया र सबैको साथले उक्त कृति प्रकाशनमा ल्याउन हौसला जागेको कृतिकार श्रेष्ठको भनाइ छ । कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्