११ चैत्र २०८२, बुधबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४-२६ गतेसम्म गर्न प्रस्ताव

कोलोराडोखबर संवाददाता , March 25th, 2026

नेपाल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते गर्न प्रस्ताव पेस भएको छ ।

सभापति गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मङ्गलबार पार्टीका संस्थापक बिपी कोइरालाको जन्मजयन्तीकै दिन भदौ २४ गतेदेखि १५ औँ महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो ।

बैठकमा प्रस्तुत प्रस्तावमा गाउँपालिका र नगरपालिका अधिवेशन २०८३ साउन १२ गते, प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमितिको अधिवेशन साउन २३ गते प्रस्ताव गरिएको छ । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्रगत अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन साउन ३० गते गर्ने भनिएको छ । सोही दिन महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन गरिने छ । साथै गाउँ–नगर वडा अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ । जस अनुसार छ हजार ७४३ वटै वडामा अधिवेशन र क्षेत्रीय प्रतिनिधि चयन गरिने छ ।

जिल्ला कार्यसमितिको अधिवेशन भदौ ६ र ७ गते र प्रदेश अधिवेशन भदौ १५ र १६ गतेका लागि प्रस्ताव गरिएको छ । नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्तभित्र गर्ने भनिएको छ । क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान २०८२ चैत २१ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म सदस्यता वितरण र अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको छ ।

असार १५ सम्ममा प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन, विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पुर्याउने प्रस्ताव गरिएको छ । असार मसान्तसम्ममा केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्वै निर्वाचन समितिलाई उपलब्ध गराउन प्रस्ताव प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्