-सुदीपभद्र खनाल-
वर्षौँ पछी यो स्थलमा म आएँ
आई मिठा याद त्यसै रमाएँ
भेटेर आफ्नै स्थल विप्न भित्र
आँखा डुबे यी नयनाम्बु भित्र
भोगेर थाकी परदेश पत्र
फर्केर आएँ जब देश भित्र
आफ्नै नभेटी अवशेष मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
यहीँ जिएथेँ सपना लिएर
यहीँ डुलेथेँ मन यो सिएर
भेटेर एक्लै कटुसत्य चित्र
आँखा डुबे यी नयनाम्बु भित्र
छुट्दै गएछन् पल मित्रताका
छन् फेरिएका जल मूल भाका
नौलो हवा जो छ समाज भित्र
आँखा डुबे यी नयनाम्बु भित्र
आफ्नै थलोमा म छु बाहिरीझैँ
अलग्गिएको हुलको चरीझैँ
टोलाउँदै गम्दछु भित्र मित्र
आँखा डुबे यी नयनाम्बु भित्र
भेटेँ कतै सुन्दर स्नेह सूत्र
आत्मीयताका मृदु भाव चित्र
आफैँ हराएँ त्यस भाव भित्र
आँखा डुबे यी नयनाम्बु भित्र
म फेरिएँ वा स्थल फेरियो यो
बिर्सेँ कि मैले म हुँ बिर्सिएको
आफैँ म नौलो छु यहाँ विचित्र
आँखा डुबे यी नयनाम्बु भित्र ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्