नेपाल । निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ कुल ११० सिटमध्ये सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । रास्वपाको भागमा ५७ सिट परेको छ । नेपाली कांग्रेसले २० सिट पाएको छ भने संसदमा तेस्रो ठुलो दल बनेको नेकपा (एमाले) ले १६ सिट पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले नौ सिट पाएको आयोगले जनाएको छ ।
चार महिनाअघि मात्रै खुलेको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार चार सिट पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा कुल सदर मतसङ्ख्याको आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका कारण छ राजनीतिक दललाई मात्रै समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण गरिएको आयोगका प्रवक्ता तथा सहसचिव नारायण भट्टराईले बताउनुभयो ।
समानुपातिकतर्फको सिट सङ्ख्या निर्धारण भएसँगै रास्वपा अब प्रतिनिधि सभामा १८२ सदस्यका साथ सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो ।
अब राजनीतिक दलले विभिन्न क्लष्टरको आधारमा समानुपातिक उम्मेदवार छनोट गरेर आयोगमा पठाउने छ भने आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार मिलेको छ कि छैन भन्ने विषयमा अध्ययन गरेर उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने छ ।
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल एक करोड ८९ लाख तिन हजार ६८९ मतदाता थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो ।
कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदानको ९४.५५ प्रतिशत हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । यो समानुपातिकतर्फ भएको मतदानको ९६.०५ प्रतिशत हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्