नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित गरिएको छ ।
सोमबार बसेको निर्वाचन समितिको बैठकले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको हो । समितिले यसअघि प्रकाशित निर्वाचन तालिकामा सामान्य हेरफेरसमेत गरेको जनाएको छ ।
यसअघि अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले सोमबार बिहान निर्वाचन समितिलाई मतदाता नामावली हस्तान्तरण गरेका थिए ।
संघको स्टेरिङ कमिटीले अध्यक्षद्वयलाई विभिन्न एनसीसी (राष्ट्रिय समन्वय समिति) मा देखिएका विवाद अन्त्य गर्दै प्रतिनिधिसम्बन्धी समस्या समाधान गर्न अधिकार प्रदान गरेको थियो । विभिन्न चरणमा भएको छलफलपछि अध्यक्ष महेशकुमार श्रेष्ठले मतदाता नामावली निर्वाचन समितिमा पठाएका हुन् ।
निर्वाचन समितिका अनुसार पहिलो चरणमा ४ हजारभन्दा बढी प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ । बैठक निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा बसेको थियो ।
एनआरएनएको १२औँ महाधिवेशन १४ देखि १६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।
निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ। साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ । यस्तै, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल भइरहेको बताइएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्