नेपाल । मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमका कारण इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा उत्पन्न कठिन परिस्थितिमा करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्न जरुरी रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ । साथै अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न सुझाव दिएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्